Skip to main content

नेपाली नागरिक संगठनहरुको संयुक्त अभियानमा नागरिक खबरदारी कार्यक्रम आयोजना भएको छ । राष्ट्रिय मानव अधिकार ऐनको संशोधन गर्न बनेको विधेयक, मिडिया काउन्सिल विधेयक र सामाजिक संघ संस्थासम्बन्धी मस्यौदा विधेयकको सन्दर्भमा नागरिक खबरदारी जेष्ठ ३ गते काठमाण्डौमा आयोजना गरिएको हो । 


कार्यक्रममा वरिष्ठ नागरिक अभियन्ता कपिल श्रेष्ठले सरकारले गरेको अभ्यास अलोकतान्त्रिक भएको भन्दै संवैधानिक अधिकारको उपभोगमा नागरिकलाई अङ्कुश लगाउन नहुनेमा जोड दिनुभयो । गैसस महासंघ नेपालका अध्यक्ष जितराम लामाले नागरिक संगठनले कहिले पनि नहार्ने भन्दै नागरिक अधिकार सुनिश्चितताका लागि नागरिक संगठनले निरन्तर खबरदारी गर्ने बताउनु भयो । “नागरिक संगठनले सत्ताका लागि बार्गेन गर्दैन, यो सधैँ नागरिकको अधिकार सुनिश्चितताका लागि प्रतिवद्ध रहन्छ”, लामाले भन्नुभयो ।  


कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने किसिमको विधेयकको संसोधनका लागि सरकारसँग जोडदार माग राख्नुभयो । 


विभिन्न नागरिक संघसंगठन र पत्रकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नागरिक अभियन्ता सुन्दरमणी दिक्षित, वियोण्ड बेइजिङ कमिडिका कार्यवाहक अध्यक्ष सुशिला श्रेष्ठ र युवा अभियन्ता नरेन खतिवडा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।