NFN is an umbrella organization of NGOs working in various fields of social welfare and development. Established in 1991 for the promotion and protection of social justice, human rights and
देश कोभिड-१९ को महामारीको दोस्रो लहरले आक्रान्त बनेको बेलामा भएको पछिल्लो राजनैतिक घटनाप्रति गैरसरकारी संस्था महासंघ नेपाल तथा नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको छ । गणतन्त्रको स्थापना पछि संविधान निर्माणसँगै पाँच बर्षका लागि स्थिर सरकार, संविधानप्रदत्त अधिकारको कार्यान्वयन र संघीयतालाई दिगो बनाई समृध्द नेपाल निर्माणको जनआकांक्षा सम्बोधनका लागि सरकार र राजनैतिक दलहरु तथा आम नागरिक समाज एकढिक्का भएर लाग्नु पर्नेमा सत्तापक्ष र प्रतिपक्षी दलहरुको आन्तरिक कलहका कारण जननिर्वाचित संसद भंग भई मध्यावधी निर्वाचनको मिति घोषणा भएको छ । यो कदमलाई प्रमुख प्रतिपक्षी दल लगायतका अन्य राजनैतिक दलहरुले अस्विकार गरेको रमुलुक फेरी आन्तरिक राजनैतिक द्वन्द्व र अस्थिरतातर्फ उन्मुख हुँदै गएकोले यस महासंघ र सिंगो नागरिक समाजलाई अत्यन्त चिन्तित बनाएको छ । जनतामा निराशा मात्रै नभई संसदीय व्यवस्थाप्रति नै विश्वास घट्न थालेको छ जसले लोकतन्त्रको विकास र प्रवर्धनमा आँच पुग्ने छ । सरकार, प्रतिपक्ष लगायत सिंगो देश एक भई कोभिड-१९ महामारीले आक्रान्त जनताको जीवन बचाउन र त्रासदीमा मलम लगाउनुको साटो राजनैतिक अस्थिरतातर्फ जाँदा महामारी नियन्त्रण भन्दा पनि अन्यत्र ध्यान गएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
पछिल्लो राजनैतिक घट्नाक्रमले नयाँ पुस्ता निराश मात्र नभई जनताले राजनैतिक स्थिरताको पक्षमा दिएको अभिमतको गम्भीर उल्लंघन भैरहेको महशुस हामीले गरेका छौ । यस मानवीय संवेदनाको कठिन मोडमा राजनैतिक सहकार्य र सहमति गर्दै संविधानप्रदत अधिकारको रक्षा गरी जनचाहना अनुरुपको राजनैतिक कदमहरु चाल्नका लागि सरकार र सबै राजनैतिक दलहरुसँग आग्रह गर्दछौ ।
संविधान, जनता र देशप्रति जिम्मेवार रुपमा प्रस्तुत भई सहमति र सहकार्यको वातावरण निर्माण गरि देशभर तीब्र गतिमा बढी रहेको कोभिड-१९ महामारी नियन्त्रणमा लाग्न, निशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्न, पर्याप्त अक्सिजन तथा अक्सिजन सिलिण्डरको व्यवस्था गर्न र कोभिड-१९ विरुध्दको खोप तत्काल उपलब्ध गराइ जनताको जीउज्यानको सुरक्षा गर्न सरकार र सम्वध्द सबैमा हार्दिक अपिल गर्दछौं