Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

लुम्बिनीमा प्रदेश स्तरीय नागरिक सम्मेलन तथा नागरिक संघसंस्थाका चुनौति र नागरिक स्वतन्त्रता सम्बन्धी नीति सम्वादको आयोजना

संस्करण 1

लुम्बिनीमा प्रदेश स्तरीय नागरिक सम्मेलन तथा नागरिक संघसंस्थाका चुनौति र नागरिक स्वतन्त्रता सम्बन्धी नीति सम्वादको आयोजना

लुम्बिनी प्रदेश स्तरीय नागरिक सम्मेलनका साथै नागरिक संघसंस्थाका चुनौति र नागरिक स्वतन्त्रता सम्बन्धी नीति सम्वाद लुम्बिनी प्रदेशको लमहीमा आज सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, प्रतिनिधि सभा सदस्य सूर्य ढकाल लगायतको उपस्थितिमा सम्पन्न सम्मेलनमा नागरिक संघसंस्था र नागरिक समाजका सवालमा छलफल र प्रस्तुति गर्दै सरकार तथा सरोकारवालाहरूका तर्फबाट नागरिक संघसंस्थाका लागि कार्यमूलक वातावरण गराउन अनुरोध तथा माग गरिएको छ । प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भन्नुभयो, सरकारले नागरिकमा बढ्दै गएको निरासालाई चिर्न सुशासन प्रवद्र्धन र भ्रष्टाचार विरुद्धका अभियानलाई प्राथमिकता दिएको छ । संघीय कानूनको अभावमा प्रदेश सरकारले सामाजिक संघसंस्था सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयन गर्न नपाउँदा संघसंस्थाहरुसँगको साझेदारी प्रभावकारी नभएको मुख्यमन्त्री आचार्यले बताउनु भयो । यसैगरी संघसंस्थाहरुसँग कार्य गर्न निरुत्साहित गर्ने किसिमको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनले पनि नागरिक संघसंस्थासँग हातेमालो गर्ने चाहना पुरा हुन नसकेको उहाँले बताउनु भयो । पञ्चायतकालीन संस्था दर्ता ऐन, २०३४ का कारण प्रदेश सरकारलाई समेत कार्य गर्न कठिन भएको बताउँदै मुख्यमन्त्री आचार्यले नागरिक संघसंस्थाका सवाललाई मनन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिनिधि सभा सदस्य सूर्य ढकालले आर्थिक तथा सामाजिक रुपान्तरणका लागि नागरिक संघसंस्थासँगको सहकार्यमा जोड दिंदै कानूनी प्रष्टता ल्याई सहज वातावरण कायम गर्न, अनुदानका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले ल्याएको अनुदान रकमको सही सदुपयोग गर्नका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । गैसस महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले भन्नुभयो, सामाजिक संघसंस्थाले गणतन्त्र र लोकतन्त्रको अनुभुति गर्न पाएका छैनन् । संघसंस्था नियमन र सञ्चालन गर्ने कुन कानून र निकाय हो भन्ने प्रष्ट हुनुपर्ने माग गर्दै साझेदारी र पहरेदारीका लागि सदैव तत्पर रहेको अध्यक्ष सुवेदीले बताउनु भयो । सम्मेलनको तर्फबाट मुख्यमन्त्री आचार्यलाई २८ बुँदे नागरिक घोषणापत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ । गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष जितकुमारी बेल्वासेको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।