प्रेस विज्ञप्ति मिति २०८० चैत्र १६ गतेका दिन नेपाल सरकार गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन , २०१८ र संस्था दर्ता ऐन , २०३४ अन्तरगत दर्ता भई सञ्चालनमा रहेका संस्थाका नाममा जारी गरेको विज्ञप्ति प्रति गैर सरकारी संस्था महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । राष्टिय निर्देशन ऐन , २०१८ र संघसंस्था दर्ता ऐन , २०३४ मा दर्ता भएका संस्थाको मुख्य उद्देश्य नै नेपाल सरकारको ऐन कानून भित्र रही सरकारको प्राथमिकता क्षेत्रमा साझेदारी र सहयोगी हातको रुपमा काम गर्ने हो । संघ संस्थाले आफ्ना गतिविधि सञ्चालन गर्दा संस्थाको विधानको सीमाभित्र रही विधानमा उल्लेखित उद्देश्यभित्र कार्य गर्नुपर्ने हुन्छ । संघ संस्थाहरुले संस्थाको विधान , नीति , नियम र नियमावली भन्दा बाहिर गएर कार्य गर्न नपाइने बारेमा हामी प्रष्ट छौं । यसका साथै पारदिर्शिता , जवाफदेहिता र सुशासनका सवालमा सजग रहेको कुरा प्रष्ट पार्न चाहन्छौ । प्रचलित ऐन र नियमावलीका आधारमा संघ संस्थाहरुले आफ्नो दायित्व र कर्तव्य पुरा गर्नुपर्नेमा कुनै द्विविधा छैन । यस विषयमा गैसस महासंघ नेपाल पूर्ण सजग रहेको छ र सामाजिक संघसंस्थाहरुबाट सुशासन र पारदर्शिता प्रवद्र्धन गराउन प्रतिवद्ध छ । गृह मन्त्रालयको मिति २०८०।१२।१६ को विज्ञप्तिमा उल्लेख भएजस्तो कानून भन्दा वाहिर गएर गतिविधि संचालन गरेका छन् भने त्यस्ता संस्थालाई सजग गराउँदै कानूनी दायरामा ल्याउन सकिन्छ तर खराब नियत र पूर्वाग्रहका साथ संघसंस्थालाई दुःख दिने अभिप्राय र नियन्त्रण गर्ने आशयवाट गरिने गतिविधि उपर गैसस महासंघ नेपाल सजग रहेको छ , साथै नियन्त्रणमुखी कदमप्रति कदापि सहमत हुन सक्दैन । साथै , हामी नेपालका नागरिक समाज तथा संघ संस्थाहरुले मौलिक हकको रुपमा प्राप्त गरेको नेपालको संविधानको धारा १७ को (२) (क) , ( ख) , ( घ) लाई संकुचन पार्ने कदम कहीं कतैबाट नचालियोस भन्दै सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदछौं । मितिः २०८० / १२ / २० राम प्रसाद सुवेदी अध्यक्ष
समाचारराष्ट्रिय
