२०७८ माघ १६ गते गैरसरकारी संस्था महासंघ नेपालको आयोजनामा नागरिक समाज तथा संघ संगठनहरुको बैठक सम्पन्न भएको छ । बैठकमा कोभिड १९ को वर्तमान अवस्था तथा नागरिक संस्थाहरुको भूमिका र सामाजिक सुरक्षा कोषमा नागरिक संघ संस्थाहरुको आबद्धता विषयमा छलफल गरिएको छ । गैसस महासंघ नेपालका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदीको अध्यक्षतामा भएको भर्चुअल वैठकमा देशैभरिका करीब १५० जनाको सहभागिता रहेको थियो । छलफलको पहिलो सत्रमा परिमार्जित सामाजिक सुरक्षा ऐन तथा नियमावलीको मस्यौदाको विषयमा सामाजिक सुरक्षा कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी व्याख्या गर्नुभयो । मानव अधिकारको अभिन्न अंगको रुपमा सामाजिक सुरक्षाको प्रत्याभुति गर्नको निम्ति सामाजिक सुरक्षा कोषको स्थापना भएको र श्रम ऐनले दिएको सामाजिक सुरक्षाको अधिकारलाई कुण्ठित नगर्ने गरि यस ऐनको व्यवस्था गरिएको हो भन्ने कुरालाई स्पष्ट पार्नु भएको थियो । साथै ऐनमा भएका प्रावधानहरुलाई थप परिभाषित गर्न र अन्य अस्पष्टता भएका विषहरुलाई समेत सम्वोधन गर्नका लागि ऐन संसोधन अगाडि बढाईएको उहाँले जानकारी गराउनु भयो । सामाजिक संघसंस्थामा कार्यरत कर्मचारीहरुको सम्बन्धमा कोषका प्रावधानबारे सहभागीहरुका जिज्ञासाको पनि कोषका सह प्रवक्ताले जवाफ दिनु भएको थियो । कोषवाट प्राप्त गर्न सकिने लाभ, कोषमा आबद्ध भएका योगदानकर्ताले यस अगाबै कर्मचारी संचय कोष वा नागरिक लगानी कोषमा जम्मा गरिरहेको रकम उक्त कोषबाट सामाजिक सुरक्षा कोषमा सार्न मिल्ने व्यवस्था, छोटो अबधिको लागि कार्यरत कर्मचारीहरुको लागि पनि उपयोगी, दुरदराजमा रहेका योगदानकर्ताको कोषमा जम्मा गर्नु पर्ने रकम नगद जम्मा गर्न पाउने व्यवस्था, कोषमा आबद्ध हँुदा हुने लाभ लगायतका विषयहरुमा कोषका तर्फबाट स्पष्ट पारिएको थियो । अन्त्यमा, संशोधित मस्यौदामाथि थप छलफल गरी सामाजिक संघसंस्था र नागरिक संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्ने निर्णय गरिएको थियो । यसको नेतृत्व गैसस महासंघले गर्नेछ । यसपछि कोभिड १९ को प्रभाव तथा नागरिक संस्थाहरुको भूमिका विषयमा छलफल गरिएको थियो । कोभिडको तेस्रो लहरले देशलाई त्रसित बनाईरहेको अवस्थामा कोभिड महामारी र यसको प्रभाव न्युनीकरणका लागि सरकारको प्रयास विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य समन्वय शाखाका प्रमुख भीम प्रसाद सापकोटाले प्रस्तुती गर्नुभएको थियो । हाल सम्म ३,०८,७६,९०० डोज खोप बितरण भई सकेको, नेपालको कुल जनसंख्याको ५४.४ प्रतिशतले पहिलो मात्रा खोप लगाएको र ४६.१ प्रतिशतले दोश्रो मात्रा खोप लगाई सकेको सापकोटाले बताउनु भएको थियो । साथै १८ बर्ष भन्दा माथिका जनसंख्यालाई आधार मान्ने हो भने ८३ प्रतिशत र ७०.४ प्रतिशतले क्रमशः पहिलो र दोश्रो मात्रा खोप लगाएको देखिन्छ । स्वास्थ्य समन्वय विभाग प्रमुख सापकोटाले कोभिडवाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सामाजिक संघसंस्थाहरुको सहयोग महत्वपूर्ण रहेको बताउँदै अभाव भएका स्वास्थ्य सामग्रीहरु प्रदान गर्न, खोप शिविरहरुमा स्वयंसेवक परिचालन तथा अभिलेख व्यवस्थापन, सचेतना लगायतका कार्यहरु गर्नका संघसंस्थाहरुको सहयोग अझै आवश्यकता रहेको वताउनु भयो । कार्यक्रममा विभिन्न नागरिक संगठन तथा सञ्जालका प्रतिनिधिहरुले सामाजिक संघसंस्थाहरुले विभिन्न प्रकारले सरकारका प्रयासहरुलाई सहयोग प्रदान गरेको र सहकार्यका लागि प्रतिबद्ध रहेको बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन गैसस महासंघका महासचिव अर्जुन भट्टराईले गर्नुभएको थियो ।
समाचारराष्ट्रिय
