Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग

संस्करण 1

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग

काठमाडौँ, साउन ३२ गैर सरकारी संस्था महासंघ नेपालले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । विद्रोही समूह तालिवान लडाकुहरुले अफगानिस्तानमा शासन नियन्त्रणमा लिएको घोषणा गरेपछि लोकतन्त्र र मानवअधिकार संकटमा परेकाले नेपालीहरुको रक्षाका उनीहरुलाई स्वदेश फर्काउनका लागि सरकारले तत्काल कदम चाल्नु पर्ने महासंघले आव्हान गरेको छ । हाल विभिन्न देशका नागरिकहरु अफगानिस्तानबाट बाहिरिँदै छन् । अफगानिस्तानबाट बाहिरिनका लागि काबुल एयरपोर्टमा मान्छेहरु खचाखच भरिएको र भागदौडका दृश्य पनि सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन् । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले समेत देश छोडिसकेका छन् । यस्तो परिस्थितिमा हरेक देशले आफ्ना नागरिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल गर्न जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ । अमेरिका, भारतलगायत देशहरुले समेत अफगानिस्तानमा रहेका आफ्ना नागरिक सुरक्षित स्वदेश फर्काइरहेका छन् । अमेरिका, बेलायत, जापान, क्यानडा आदि देशका राजदूतावासमा सेवारत नेपालीलाई ती देशहरुले उद्धार गरिरहेका खबर प्राप्त भएपनि विभिन्न उद्देश्य र तरीकाले अफगानिस्तान पुगेका अन्य नेपालीहरुको सुरक्षित स्वदेश फिर्ता संवेदनशील र जटिल बनेको छ । यस सन्दर्भमा, द्वन्द्वग्रस्त क्षेत्र अफगानिस्तानमा फसेका नेपाली नागरिकहरुलाई छिटोभन्दा छिटो सुरक्षित रुपमा स्वदेश फर्काउन आवश्यक रहेको गैससले जनाएको छ । सत्ताबाट बाहिरिएको करीब २० वर्षपछि फेरि तालिवान विद्रोही समूहले अफगानिस्तानको शासन सत्ता नियन्त्रणमा लिएका छन् । मानवअधिकारका दृष्टिले यो विश्वभर एक चिन्ता र चासोको विषय बनेको छ ।